-रजित ओझा
"मोटाईछौ ।" कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो असर छोडे किनकि केटिहरुलाई मोटाएको कुरा गरिदिनु राम्रो मानिन्न तर तिस बर्षको अन्तराल मा म अल्लारे ठीटोबाट लोग्नेमान्छे भएँ भने उ पनि त केटिबाट आइमाई भइ होलि नि ! जे होस् पाँच मिनटको सुनसान यात्रा,हामी दुवैको मौनता तोड्ने क्रमको औपचारिकता निभाएँ ।यो आश्चर्यजनक भेट पचाउन गारो भइसकेको थियो मलाई , तिस बर्ष निकै लामो समय हुन्छ । अब के नै बाँकि थियो र हामी बिच औपचारिकता बाहेक । चियाको प्रस्ताव मैले नै राखेको हुँ ,शायद म पुराना दिन पल्टाएर आँफै दर्शक भएर पर्दा नियाल्न चाहन्थेँ । कुनै बेला त्यो क्याफे र आइसक्रिम पार्लर भेट्ने बहाना हुन्थ्यो ,गोजि मा पैसा नै नभए पनि बुवासँग कहिले कलम किन्छु भनेर ,कहिले ल्याब सिट सिद्धियो भनेर जे होस बिभिन्न बहाना बनाएर ल्याएका पैसाले ! आज पैसा छ ,तर बहाना छैन अनि साथ नै भएर पनि उ छैन ।
"होला ,बुढि पनि त भएँ नि ,बुढेसकालमाँ त्यसै जिउ लाग्छ भन्छन् । "उसले समय माथि गुनासो पोखी अथवा अर्को शब्द मा भनौँ दोष थोपरी ।कपाल मा रातो मेहेन्दि लगाएर उ समय रोक्न खोजिरहेकि थीइ ,अरु बुढी आइमाईको तुलनामाँ उसको कपाल रेशमी नै लाग्थ्यो तर आँखा को चश्मा ,अनि थोरै नै भए पनि ति खुम्चिन शुरु गरेका ति सेता गालालाई कसरि सम्झाओस उ समय रोक्न चाहन्छे भनेर ।गालाको खाल्डो भने यथावत नै रहेछ ,कुनै कुनै कुरा को अगाडि समय पनि बिवश हुन्छ शायद ।
"बुढि नै त देखिएकि छैनौ । " मैले गालाको खाल्डो नियाल्दै भनेँ । उसको मुस्कान थोरै अरु थपियो गालाको खाल्डो थोरै अरु गहिरो भयो । क्याफे मा कुनाको कुर्सि खालि रहेछ ।मलाई अझै याद छ यो कुर्सि हामी दुइको ठेक्का जस्तै नै थियो पुराना दिनहरुमाँ ।
"कहिले फर्केको क्यानडा बाट ?"
यो प्रश्न को उत्तर मलाई सुन्न मन थिएन तै पनि सोधेँ ।म उसलाई मात्र दोष दिन्न , सबै मान्छे आफ्नो नजरमा सहि हुन्छ।उसको महत्वाकांछ्या र मेरो आदर्श मिलेर हामीलाई टुक्र्याएर म र उ बनाएका थीए ।बिहे पछि उ क्यानडा गइ अनि म नेपाल मै जागिर खान थालेँ ।
"बानेश्वर मै छु चार बर्ष भयो ।"उसले सटिक जवाफ फर्काइ ,नेपाल फर्केको काठमाण्डौ आएको चार बर्ष पहिलो चोटि दोबाटामाँ ठोक्कियो । निकै लामो समय लिएछ भाग्यले यो साइत जुराउन , मनमनैँ सोचेँ ।
"किन नी ? क्यानडा को रहर पुगेको ?"
"वहाँ एक्स्पायर भएदेखी जिवन देखी नै रहर पुगेको छ ,जिवन जिउनु र बाँच्नु फरक कुरा रहेछ ।" उसले एक वाक्य मै आफुलाई पोखी ,अनि म छताछुल्ल भएकी उसलाई नियाँले । उसका आँखा चीयाको ग्लासमा अडियो ,भित्र को आँशुलाई बल प्रयोग गरेर रोक्न चाहन्थि शायद ।चश्मा भित्रका आँखाहरु अझै पनि ठूला ,गहिरानै थीए ।फरक केवल चश्माको पावर मा थियो ।
"माया गर्ने मान्छे टाढा गएपछि दुख त हुन्छ नै !"
मैले फेरि पनि औपचारिकता निभाएँ ।उसले पुलुक्क म तिर हेरी ,शायद उसलाई मैले आफ्नो बारेमा कुरा गरेको वा उसको उसलाई खुट्याउन गारो भयो ।
"तिम्रो पनि सुनाउ न ,कति म मात्रै बोलिरहुँ ।" उसले प्रसंग बदलि ।
"मेरो के सुन्छौ र ?"म थोरै हाँसे जस्तो गरेँ ।
"छोराछोरी कति छन् ?के के गर्दै छन्?"
"किन ?मेरो बिहे भयो भन्ने कहिले थाहा पायौ र?"
"गर्यौ होला नि ,मलाई नै सम्झेर ,देवदास भएर त पक्कै बसेनौ होला ।"उसले पहिलो चोटि ठट्टा गरी अनि खुलेर हाँसि ,मैले पनि उसलाई साथ दिएँ ।
"बिहे पछि मेरो खोजखबर त पक्कै पनि गरेनौ होला ,गेस नै त होला नि?"
"हो बाबा हो, तिम्रो एउटै कुरा पक्डिरहने बानि कहिल्यै नजाने भो । भन न त गर्यौ कि गरेनौ ?"
"गरेँ ,तर बिहे गरेको दुइ बर्ष मै छोडेर गइ टाढा धेरै टाढा तिम्रो लोग्ने सँगै ,तिम्रो र मेरो भाग्य उस्तै रहेछ ।"मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।शायद थोरै आश्चर्य र थोरै सहानुभुति थियो ।
क्रमश:
No comments:
Post a Comment