सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Saturday, February 16, 2008

भौतिकता र आध्यात्मिकताको मेल हुन सक्छ?

-नवराज


एडिलेडको तीन- चार महिनाको बसाइपछी यहाँको बातावरणमा राम्रोसँग घुल्मिल भई नसकेको अवस्थामा प्रस्तुत लेख लेखिएको थियो। एडिलेडको छोटो बसाइपछिको , यहाँको बातावरण र रहन्-सहनले नेपाली मस्तिस्कमा पारेको तात्कालिन प्रभाब प्रस्तुत लेखमा समेटिएको छ।

बिहान नौ बजेको क्लास लिनु थियो। राती अबेरसम्मा एकजना नेपालि दाई कहाँ गएर बसिएको थियो। वहाँ नेपाल जादै हुनुहुन्थ्यो। आकाश आफ्नो पुरानो मोबाईल र अष्ट्रेलियामा नाम चलेका चर्चित ब्रान्डका चक्लेटहरु कोसेलिको रुपमा आफ्नो घर पठाउदै थियो। राती अबेरसम्म गफगाफ गरी घर आएर सुत्त्ने तर्खर गर्दा २ बजिसकेको थियो।

बिहान साँढे सात बजेको अलार्मले हामीलाई ब्युझायो। मन नलागी नलागी उठेर आफ्नो नित्य काम सकी बल्लतल्ल चिया मात्र बनाउन भ्याइयो। आठ बजेको बस समातेर झन्डै पौने घण्टाको बस यात्रा गरी क्लास समयमा नै लिन भ्याइयो। अष्ट्रेलियामा बस सेवा सुबिधाजनक भएपनी त्यती सुलभ भने छैन। एउटा बस फुत्कियो भने उस्तै परे आधा घण्टा नकुरी अर्को बस पाउने आशा नगरे पनि हुन्छ।

पेनेन्सुला ताल


एघार बजे क्लास सकिएपछी अर्को क्लास एक बजे मात्रै थियो। बिहान पेटमा केही चारो नहाली आएकोले भोक लागि सकेको थियो। सधैं झै नजिकैको एउटा सस्तो डिपार्टमेन्टल स्टोरमा गएर सस्तो खाले बिस्कुट किनी हामी नजिकैको पेनेन्सुला तालको किनारमा रहेको बेन्चमा बसी आफ्नो पेट्को माग पुरा गर्न थाल्यौ। पेनेन्सुला ताल ठुलो कृतिम ताल हो। रानीपोखरी भन्दा झन्डै चार पाँच गुना ठुलो छ यो ताल। ताल साह्रै मनोरम छ। हिंडेर पुरै तालको चक्कर लगाउन झन्डै आधा घण्टा भन्दा बढी समय लाग्छ। त्यसैले जगिङ गर्नेहरुको प्रिय थलो हो यो ताल। हामी बेन्चमा बसी बिस्कुट खाँदै गर्दा परबाट दस पन्ध्रजनाजति युवतिको टोली जगिङ गर्दै हामीतर्फ नै आउँदै थियो। टीनेजर्स जस्ता देखिने ति युवतिहरु सायद कुनै स्पोर्टस सँग सम्धित थिए। हाम्रै अगाडि बाट असिन पसिन हुँदै अनि दौडदै ती युवतिहरु अगाडि गए। केही मोटो ज्यान भएका युवतिहरु भने पछी परेका थिए। ति मध्य एक युवतिले हामीलाई अभिवादन गर्दै भनिन्-”हेलो गाइज, हाउ डुइङ्?”
हामीले पनि अभिवादन फर्काउदै भन्यौ- “फाइन गल्स्, हाउ आर यू डूइङ्?”
यतिकैमा पछाडि बाट भनेको सुनियो - “सिटिङ लाइक गे” अनी केही बेरको हाँसो।

कसैले केही भन्यो भन्दैमा हामीले आफ्नो दिमाग खराब गर्नु पर्ने कारण त केही थिएन। तर यो घटनाले मलाई यहाँको रहनसहन् सम्बन्धी केही कुरा लेखन घच्घचायो।
साउथ अष्ट्रेलियामा रहेको सानो यो शहर अडिलेड जनसंख्याको आधारमा एउटा सानो शहर हो। झन्डै बाह्र लाख जनसंख्या रहेको यो शहरको मुख्य शहरी भाग सानो रहे पनि बसोबास भने टाढा टाढासम्म फैलिएको छ। बिश्वको नै बिस सफा शहरमध्य पर्ने अडिलेड शहर निकै नै हराभरा र मनोरम छ। ग्रिक र जर्मन यहाँका पुराना बासिन्दा मनिएपनि ‘अबोरोजिन’ पुकारीने काला जाती नै यहाँका रइथाने बासिन्दा हुन। त्यसोभए पनि भुगोलका प्रायजसो सबै देशहरुको प्रतिनिधित्व छ यो शहरमा जसमा भिएत्नामी , मलेसियन, सिङ्गापुर, थाइ, भारतीय, चाइनिज, आदी प्रमुख छन् जो बर्षौ अगाडि आएर यही स्थाई बसोबास गरी बसेका छन्। आजकाल यो शहर एसियन विद्यार्थीकालागी उच्च शिक्षा हासिल गर्ने प्रमुख गन्तब्य बनेको छ। त्यसो त धन कमाउने अनी PR हुने (स्थायी बसोबासको स्विक्रिती ) पाउने उदेश्य लिएर आउनेको पनि यहाँ कमी छैन।

अब माथिकै सन्धर्भतिर जाउँ। आधुनिकता र स्वतन्त्रतामा चुर्लुम्म डुबेका यहाँका युवा युवतिको जस्तोसुकै चाहनालाइ पनि रोक्तोक् लगाउने हक् न त यहाँको समाजलाइ नै छ न त सरकारलाइ नै। त्यसैले होल बस स्टेसन, सडक, वा बसभित्र युवा-युवती अंगालोमा बाधीएर निसंकोच चुम्बन गरिरहेको द्रिश्य बग्रेल्ती देखिन्छ। टिनेजर्स अवस्थामा आफ्नो ब्यक्तिगत विपरित लिङ्गी साथी हुनु स्वाभाविक मात्र हैन अपरिहार्य नै ठान्छन यहाँका युवापुस्ता। त्यसैले होला युवा युवासँग वा युवती युवतिसँग हिंडेको , घुमेको कमै देख्न पाईन्छ यो शहरमा। आधुनिकता र यौन स्वत्रन्तताको चुलिमा यती पर पुगिसकेको छ यो शहर की एक दशक अगाडि नेपालमा कुनै युवा र युवती हिंडेको वा घुमेको देख्दा मानिसहरुले उब्जाउने शंका यहाँ दुई पुरुष वा स्त्री हिड्दा वा डुल्दा यहाँका युवा-युवती उब्जाउन थालेका छन्। दुई युवा साथी घुम्नु, फिल्म हेर्न जानु, डिस्को वा पब आदी जानु शायद अब यहाँ खिसीको पात्र बन्ने अवस्था आइसकेको छ।

यहाँ पुरुष भन्दा महिला बढी मद्यपान र धुम्रपानको सिकार भएको देखिन्छ। त्यसो त प्रत्येक ९७ पुरुष जनसंख्या बराबर १०० महिला जनसंख्या छ यो शहरमा। त्यसैगरी सबै विकसीत शहर जस्तै विकेन्ड्स (सप्ताहन्त) संस्क्रीति यो शहरमा पनि लोकप्रिय छ। सुक्रबर र सनिबार प्राय मानिसरु आफ्नो घरमा बस्दैनन्। आफ्नो रुची अनुसार रेस्टुरेन्ट , पब, डिस्को आदी गएर सप्ताह भरिको तनाव भुल्न खोज्छन। विकेन्ड्समा मानिसहरुलाई रमाउन प्रोत्साहन यहाँको सरकारले पनि गरेको छ। त्यसैले होला साताका सबै दिन प्राय राति ११-१२ बजे बन्द हुने बस सेवा आइतबार बिहान ४ बजेसम्म सुचारु हुन्छ। त्यसो त मद्यपान गरेर गाडी चलाऊन नपाउने नियमका कारण सप्ताहन्तमा आफ्नै बस् सेवा चलु गरेर आफ्ना जनताहरुलाई सुबिधा दिएको हो यहाँको सरकारले। शनिबार मध्यराती अर्धनग्न पोसाकमा नशामा चुर्लुम्म डुबेर पब, डिस्को भौँतारिदै गरेक युवतिहरु मनग्य भेटिन्छन्। त्यसो त सुन भए शुरा र सुन्दरिको कुनै कमी छैन यो शहरमा।

जवान अवस्था निकै नै रोमन्चक रहे पनि प्रौढावस्था निकै नै कष्टकर हुन्छ यहाँका मानिसहरुको। कष्टकर यो अर्थमा कि प्राय प्रौढहरुको बुढेसकाल ब्रिद्धाश्रम (Aged Care Centre) वा एक्लै गुजारा गरेर बित्दछ। बुढेसकालमा सहारा दिने आफन्त, छोरा-छोरी वा साथीभाई कमैको मात्र हुन्छ। त्यसो त जवानीमा ब्यस्त त र रोमन्चक जीवन बिताएका कतिपय प्रौढहरुले आफ्नो परिवार नै बनाउन भ्याएका हुन्नन र कतिपयले त चाहना नै गर्दैनन्। परिवार भएकाहरु पनि प्राय एक्लै बस्छन्। जीवन गुजारा गर्न चाहिने आर्थिक मद्घत त सरकारी भत्ता वा पेन्सनबाट पाएकै हुन्छन्। मेरो (Aged Care गर्ने) साथी भन्दै थियो-” बुढेसकालमा एक्लै बस्नु परेकोले होला, कतिपय प्रौढहरुमा मानसिक बिक्षिप्तता पनि आइसकेको हुन्छ”। नाआओस पनि कसरी बर्षौदेखी समाज परिवारबाट अलग्गिएर कुनै मानिससँग संबाद गर्ने पनि मौका नपाई एक्लो एकोहोरो जीवन बिताउन जो बिवस छन यिनिहरु। अझ लामो समयसम्म यहाँ बसिसकेको साथी त भन्दै थियो-”कहिलेकाही त प्रौढहरुको आफ्नो घरम मृत्‍यु भएको तीन चार दिन पछी मात्र छिमेकिले चाला पाउछन।” सुन्दा पनि कहाली लाग्दो कुरा कसरी यहाँका मानिसहरु यती कठोर भएर एक्लै बस्न सक्छन।

भौतीक कुरामा यत्रो उन्नती गरेका छन यिनिहरुले। सामान्य भन्दा सामान्य काम गर्ने मानिसले पनि गाडी चढेर हिंड्न सक्ने, सुबिधा सम्पन घरमा बस्न सक्ने, आफुले चाहेको सुबिधा वा सामाग्री सहजै आफ्नै कमाइले उपभोग गर्न सक्ने र बेरोजगार बस्न नपर्ने अवस्था श्रीजना गरेक छन् यिनिहरुले। शहरको सफाइ र सुन्दरताको त कुरै नगरौ, कुनै कुनै आवास क्षेत्रहरु त यती स्वच्छ, मनोरम र रमणिय छन् कि मानौ स्वर्गको टुक्रा जस्तै। सफाइ र सुरक्षा त यहाँको मुलमन्त्र नै हो। परस्पर ब्यवहाँर र बोलिचालिमा पनि यिनिहरु ज्यादै नम्र र भलादमी छन। यती धेरै राम्रा पक्षहरु हुँदा हुँदै पनि यिनिहरुको एक्लो र एकोहोरो जीवनशैली, सिमित मानिसहरुसँग मात्र घुलमिल जीवन देख्दा लाग्छ यहाँको जस्तो भौतिक सुबिधा अनी हाम्रो देशको जस्तो आध्यात्मिक पाराको जीवनशैलिको मेल भए स्वर्ग खोज्न कहाँ जानु पर्थ्यो होला?

स्वतन्त्रता को नाममा कसैले कसैको वास्ता खोजी नगर्ने, मनोरन्जनको नाममा विकेन्ड्स, पब र डिस्कोमा नै सिमित रहनु पर्ने, सधैं समयको अभाबमा नै रहनु पर्ने, आफ्नो परिवार नै बनाउन नभ्याउने र भएपनी बुढेसकाल एक्लो , एकोहोरो, निरस र निरिह तरिकाले बाच्नुपर्ने यहाँको कठोर अवस्था देख्दा भन्न मन लाग्छ-

“एउटा यो देश जहाँ मान्छेको हृदय पनि पत्थरको हुन्छ
एउटा त्यो हाम्रो देश जहाँ पत्थरको पनि हृदय हुन्छ।”

1 comment:

  1. Nabaraj Dahal, Your poems are really good and i like these all.
    Keep on writing these kinds of poems and articles....
    The webpage is also designed in a good way. All the pictures previews meanings of ur words!
    Really Gr8 !
    thanks for sharing this website
    Bishwaraj.

    ReplyDelete