सानो संसारमा आफ्नो लेख रचना छपाउनको लागि "nabarajdahal@hotmail.com" अथवा "santosh_koirala@hotmail.com" मा आफ्नो रचना पठाउनु होला |

Thursday, July 24, 2008

बुढाबाको लठ्ठी

-रजित ओझा

बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल चाहिँ सेतो धोति ।
"यो बुढो उमेरमा कति धर्म गर्नु परेको हजुरलाई ,रुघा लाग्यो ज्वरो आयो स्यहार्न भगवान आउँदैनन् मैले गर्नुपर्छ ।सँधै ननुहाए पनि त हुन्छ नि ।"बुहारि झोक्किन्थीन धेरै जसो ।
"बुढीलाई त नटेर्ने म पहिले। तँ फिस्टि बुहारी"बुढाबा मनमनै सोच्थे ।
हुन त बुढी आमै खसेको धेरै पहिले तर सम्झीन्थे बुढाबा कहिलेकाहिँ बुढीआमैलाई ।गाउँघरका बुढापाका भेला हुँदा भन्थे
"मेरी मुखीनी को बुलाकि चार तोलाको थियो ।अहिलेको कुरा गर्ने हो भने त एकलाख रुपियाँ नाकमाँ झुण्ड्याएर हिँड्थी मेरी मुखिनी । महि पार्दा हल्लिदाँ नाक कति सारो राम्रो देखीने बुलाकी सहितको । उसले मथेको घिउ त झर्के कचौराको भरि एकै छाकमाँ सिध्याउँथे म !"
त्यो उमेरमाँ पनि बुढाबा ठमठम हिन्थे । बा को घरबाट बुढापाका भेला भएर गफ गर्ने ठाउँ लक्का जवानलाई हिँडेर पुग्न पन्ध्र मिनट लाग्ला बरु तर बुढाबा दश मिनटमैँ पुग्थे ।गाउँका मान्छेहरु भन्थे "यमराजले बुढाबालाई लिनलाई दुत नपठाएको होईन रे ,बुढाबा छिटो हिँड्ने भएर तिनीहरुले भेट्टाउन सकेनन अरे ।"
हरिक्रिष्णले "गाई किन्नु छ बुढाबा तँपाईँ त दुध खाँदा खाँदै पाको हुनु भएको मान्छे ,चन्द्रेको मा भएको गाई हेर्न जौँ न "भनेर लिएर जाने बिचार गर्दै भन्यो एक दिन ।
बुढाबाले हाँस्दै भनेका थिए"म बुढोलाई के दुख दिन्छस् ,गाई नै त किन्ने हो नि मन नपरे नकिन ,किनेर मन नपरे बेचिदे,गाई नै ल्याउने हो ,बुहारि भए पो शिल स्वभावकि भनेर हेर्न गइदिनु ।"तर हरिक्रिष्णे मानेन ,बुढाबा जानै पर्ने भयो । एक घण्टाको ओरालो बुढाबा पछि पछि आए ,हरिक्रिष्णे अघि अघि गाई घच्याउँदै हिड्यो ।
घर फर्किने बेलामा बुढाबाको पाँसुला फर्के जस्तो भयो ,बुहारिलाई घर फर्केर तेल लगाई माँगे ।
"बुढो भयो जिउ ,हेरचार गर्नु छैन त्यो दुई दुई घण्टाको बाटो किन हिँड्नु परेको होला"बुहारि फतफताउँदै तेल लगाईदिन थाली ।
"तँ सारै गाली गर्छेस हौ बुहारि बुढो मान्छेलाई ।"बुढाबाले दुखेसो पोखे ।खुट्टा सारै दुखेर मात्रै सुस्तरि बोले बुढाबाले नत्र बुहारिलाई नै टेर्ने खालका मान्छे थिएनन् बुढाबा ।
"मायाले नि बा ,पिरले ।केटाकेटि जस्तै पछि पछि लाग्ने कुरा आएन ।अलि अलि त तँपाई ले पनि सोच्नु पर्यो नि ।"तेल को कचौरा छेउमा राखीदिएर ,बत्ति निभाउँदै बुहारिले भनी ।
त्यो राति बुढाबा उठ्न सकेनन पिसाव फेर्न जानलाई पनि । छोराहरु आएर ट्वाईलेट सम्म पुर्याईदिए । त्यो दिन देखी बुढाबाको हिँडडुल कम भयो । एक दिन कान्छो छोरोले लठ्ठि लिएर आयो बुढाबालाई हिँडडुल गर्न सजिलो होस भनेर हात ले समाउने बिट छड्के भएको , बिट चाँदि जस्तो तर फलामको पाताले बेरेको थीयो लठ्ठी भरि डन्डिफोर जस्ता थोप्ला थोप्ला थिए अनि चिल्लो थियो लठ्ठी ।
तर बुढाबा लठ्ठी देख्ने बित्तिकै झोक्किए ।
"अहिले सम्म लठ्ठि बेगर नै हिँडेको म अब मर्ने बेलामा किन लठ्ठी बोक्छु ,फ्याँकिदे त्यसलाई ,अहिल्यै जलाउनलाई दाउरा जम्मा गर्न थालिस् कि क्या हो कान्छा ?"
कान्छो छोरो निशब्द भयो बुढाबा झोक्किएपछि ।उसले बुढाबा सुत्ने कोठाकै कुनामा लठ्ठी थन्क्यायो ।
दारी छोराले काटिदिन्थे बुढाबाको बुढाबा थलिएपछि ,हफ्तामा एक पटक । गाला चाउरि परेका थीए बुढाबाको आईरन लगाईदिउँ जस्तो त्यस्ले दारि काट्नलाई सारै अफ्ठ्यारो धुले बाटोमा गाडि गुडाएजस्तो कहिले यता ढल्केको छ कहिले उता ,फेरि बुढो शरिर ब्लेडले काट्यो भने त रगत नरोकियेला भन्ने पिर अनि आँखा चश्माको बाहिरबाट चश्माको पावरले फर्सि जत्रै देखिन्थ्यो ।घाँटीमैँ झुण्डीराखोस भनेर तुना पनि लाईदिएको थियो चश्मामा ।कोठामै खानलाई अफ्ठ्यारो मान्थे बुढाबा चुलो उठाउनु हुन्न भन्थे । बिस्तारै बिस्तारै बुढाबाको खान्कि घट्यो ।एकरात बुढाबाले मुखीनीलाई सपनिमा देखे ।भोलिपल्टनै बुढाबाले छोरोलाई बोलाए र भने
"अब म बाँच्दिन जस्तो छ धेरै केटा ।तेरी आमा सपनामाँ आएर बोलाउन थाली । "
छोरोले रुन्चे मुख लायो अनि मनमनै सोच्यो बुढो शरिर कति चाँडो ढल्दो रहेछ ,अस्ति सम्म ठमठम हिँड्ने बा आज ओछ्यान मा थलीएर यस्ता कुरा गर्छन् ।
बुढाबा थलिएको कुरो गाउँ भरि फैलियो ।गाउँ भरिका बुढापाका को ओइरो लाग्यो घरमा थोरै बेर फेरि पुराना कुरा गरेर मन बहलाए बुढाबाले । घरभरि त्यो दिन जु्त्ता र लठ्ठिका थुप्रा थीए ।बुढाबाले लठ्ठि हरु सबै हेरे । अस्ति कान्छोले ल्याएको लठ्ठि कस्तो रहेछ फेरि हेर्न मन लाग्यो बुढाबालाई ।त्यो दिन अरु दिनको तुलनामाँ खाना पनि धेरै रुच्यो बुढाबालाई ।खाना खाने बित्तिकै बुढाबाले कान्छालाई लिन पठाए ।
" अस्ति तैले ल्याएको दाउरो यहिँ राखीस कि फ्याकिदिइस कान्छा?"बुढाबाले सुस्तरि सोधे ।
कान्छोले कुनाबाट झीकेर बुढाबालाई डराई डराई लठ्ठि देखायो ।बुढाबाले धित मरुन्जेल लठ्ठि हेरे लठ्ठी आफ्नो जस्तो लाग्यो अनि अरु बुढाहरुको भन्दा राम्रो रहेछ जस्तो पनि लाग्यो बिस्तारै लठ्ठि समाए ।सजिलो कसरि समात्दा हुन्छ हेरे अनि ओछ्यानको छेवैमा थन्क्याए ।
भोलिपल्ट बिहान बुढाले अरु दिन भन्दा छिट्टै चिया पकाउन बुहारिलाई भने ।चिया खाईसकेपछि गिलास लिन जाँदा बुढाबा ओछ्यानमाँ थिएनन् लठ्ठि पनि थिएन ।बुहारि हत्तपत्त बाहिर निस्कि ।बुढाबा लठ्ठि टेकेर कहिले घाम उदाउला भनेर पुर्वतिर हेर्दै थिए ।

4 comments:

  1. gajab chha ...ranit ji...malai tapaiko katha wa rachana bhanda pani lekhne shaili ramro lagchha ..tapiale sabdalai nikkkai saral ra jara dekhi nai samatnu hunchha ....lekhdai garnu hola...angreji ma bhnda typical...haha...Good on you ...

    ReplyDelete
  2. Very good Rajit ji, You have done wonderful work to create this article

    ReplyDelete
  3. OOps! kasto raamro katha ani lekhai saili! dherai samaye pachhi yo blog hereko eka bihanai kyampus bata. saachi, yo lekh padhda auta gaaukokunai auta gharma ghumna pugyo mero mastisk. dimakh ma chitran bhayo tapai ko katha. saral, suddha ani jun laye chha ni tapai ko harek haraf ko purnabiram ma, ahaa kasto ananda dine tapaiko lekhle. tapai aafno lekh lai sankalan garera auta katha ko kitab banaunos.

    ReplyDelete
  4. rajit ji good article....

    ReplyDelete